२०८२ पुस ०२ गते
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ५.७० अंकले बढ्दै २ हजार ६२५ विन्दुमा पुगेको छ ।
यस दिन अघिल्लो कारोबार दिनको तुलनामा बजारको कारोबार रकमसमेत बढेको छ । मंगलबार ३ अर्ब ४४ करोड रुपैयाँमा सीमित कारोबार भएको बजारमा बुधबार ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
समूहगत सूचकतर्फ फाइनान्स समूह सबैभन्दा बढी १.७५ प्रतिशतले उकालो लागेको छ । त्यसैगरी बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशतले बढेका छन् ।
यद्यपि व्यापार समूह ०.२७ प्रतिशतले घट्दा निर्जीवन बीमा ०.३६ र होटल तथा पर्यटन समूह ०.३७ प्रतिशतले ओरालो लागेका छन् ।
यस दिन १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.७७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ५.३३ प्रतिशत तथा माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशतले वृद्धि भएको छ ।
उता, बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् शीर्ष पाँच कम्पनीमा परेका छन् ।
प्रतिक्रिया