२०८३ साउन २४ गते
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ ।
गत असार ३१ गतेदेखि १४।२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ ।
निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले १४।२ किलो ग्यास बिक्री गर्न थालिएपछि सुरुआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताए । “उपभोक्तालाई मागअनुसारको ग्यास उपलब्ध गराउने उद्देश्यले आपूर्ति बढाइएको छ, यसका लागि इन्डियन आयल कर्पोरेसनले पनि सहयोग गरेको छ”, उनले भने । ग्यासको आपूर्ति निरन्तर भइरहेको जानकारी दिँदै उनले आवश्यक मात्रामा मात्रै ग्यासको भण्डारण गर्न आमउपभोक्तालाई आग्रह गरे ।
“अहिले पनि आइओसीको रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट लोडिङ भएर आइरहेको छ, ७।१ किलोबाट १४।२ किलोमा ‘सिफ्ट’ हुँदा केही समस्या देखिएको हो, बढीमा एक सातामा ग्यासको बिक्री वितरण सामान्य हुन्छ”, निर्देशक उपाध्यायले भने । पश्चिम एसियामा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै निगमले ग्यासको आपूर्ति र वितरणलाई व्यवस्थित बनाउन गत फागुन २९ गतेदेखि ७।१ किलो ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।
गत फागुनमा ग्यासको अभाव देखिएपछि निगमले आधा ९७।१ किलो० ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलायो । आधा सिलिन्डरको बिक्रीले तत्कालको समस्या समाधान गरे पनि छिट्टै पूरा ग्यास भरिएको सिलिन्डर पाउने आशामा उपभोक्ताले सिलिन्डर ‘होल्ड’ गर्दा अहिले समस्या आएको उद्योगी बताउँछन् ।
सात दशमलव एक किलोग्राम ग्यास बिक्री गर्न थालेसँगै ग्यासको मागमा कमी आएको थियो । नेपालमा मासिक करिब ४६ हजार मेट्रिक टन ग्यासको खपत हुँदै आएको थियो । फागुन २९ देखि असार ३१ सम्म चार महिनाको अवधिमा ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको थियो । “आमउपभोक्ताले १४।२ केजी नै बढी रुचाउनु हुँदोरहेछ भन्ने हामीले महसुस गर्यौँ”, निर्देशक उपाध्यायले भने।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पछिल्लो चार महिना आधा सिलिन्डर ग्यास बिक्री गर्दा आयातमा केही कमी भए पनि पछिल्लो समय आयातको परिमाण निरन्तर वृद्धि भइरहेकाले बिक्री सहज हुँदै गएको बताउछन् । उनले ग्यासको अनावश्यक सञ्चिती नगर्न र अत्यावश्यक परेको वर्गलाई पहिलो प्राथमिकता दिन आग्रह गरे ।
प्रतिक्रिया