ग्यास विक्रेता महासंघको विज्ञप्ति :अभाव सिर्जना गर्ने र बढी मूल्य लिनेलाई कारबाही होस्

२०८२ फागुन २६ गते

ग्यास विक्रेता महासंघको विज्ञप्ति :अभाव सिर्जना गर्ने र बढी मूल्य लिनेलाई कारबाही होस्

काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपाल ले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा बजारमा ग्यास अभाव भएको र केही स्थानमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement:

Ad
Ad

विज्ञप्तिमा पछिल्लो समय मध्यपूर्व क्षेत्रमा देखिएको अशान्तिका कारण भविष्यमा ग्यास आपूर्ति प्रभावित हुने हो कि भन्ने चिन्ता उपभोक्तामा देखिनु स्वाभाविक भएको उल्लेख गरिएको छ । तर, यस्तो परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासंघले स्पष्ट पारेको छ ।

महासंघले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन र जिम्मेवार ढंगले सेवा प्रवाह गर्न आग्रह गरेको छ । साथै, संकटको अवस्थामा उपभोक्तालाई ठगी गर्ने विक्रेता वा ग्यास उद्योगीलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

यस्तै, यस्ता गैरकानुनी गतिविधिमा संलग्न हुने जोकोहीमाथि कारबाही हुने विषय सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउन पनि महासंघले निर्देशन दिएको जनाएको छ ।