२०८३ जेठ २५ गते
काठमाडौँ । केही दिनदेखि गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गरिएको छ।
नेपालगञ्ज उपमहानगरको शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाले सबै विद्यालयलाई परिपत्र गरेर विद्यालय बन्द गर्न भनेका छन्। अत्यधिक गर्मी बढेकाले जेठ २६ देखि २९ गतेसम्म विद्यालय बन्द गर्न भनिएको छ।
अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आवतजावत गर्न कठिनाइ भएको, स्वास्थ्यमा प्रतिकूल असर परेको उल्लेख गरिएको छ।उपमहानगरले भनेको छ, ‘जेठ २६ देखि २९ गतेसम्म आधारभूत तह तथा माध्यमिक तहका सम्पूर्ण कक्षाहरूको पठापाठन बन्द हुने गरी गर्मी बिदा गरिउको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार अनुरोध छ।’
केही दिनदेखि पश्चिम तराईमा गर्मी बढेको छ। विशेष गरेर लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा गर्मी बढेको छ। देशका अन्य भागमा पानी परे पनि यो क्षेत्रमा लामो समयदेखि पानी परेको छैन। नेपालगञ्ज, कोहलपुर, धनगढी, महेन्द्रनगर लगायत क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ।
यससँगै बाँकेको कोहलपुर नगरपालिकाले पनि आजदेखि तीन दिनसम्म बन्द गरेको छ। पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए।
‘वर्षा भएर गर्मी घट्ने अवस्था आए तीन दिन मात्रै बिदा हुन्छ नभए थप दुई दिन बिदा हुन सक्छ,’ मिजारले भने।
उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।
प्रतिक्रिया