एभरेष्ट बैंकको प्रगतिः वितरणयोग्य मुनाफामा सुधार, कर्जा र निक्षेप दुवैमा विस्तार

२०८३ साउन २० गते

एभरेष्ट बैंकको प्रगतिः वितरणयोग्य मुनाफामा सुधार, कर्जा र निक्षेप दुवैमा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा खुद नाफा, सञ्चालन आम्दानी तथा वितरणयोग्य मुनाफामा सुधार गरेको छ भने कर्जा र निक्षेप दुवै विस्तार भएका छन्।बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ८४ करोड रुपैयाँबाट ४.७५ प्रतिशतले वृद्धि हुँदै करिब ५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यस्तै, खुद ब्याज आम्दानी पनि ९ अर्ब १० करोड २३ लाख रुपैयाँबाट बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ।

 

Advertisement:

Ad
Ad

समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी उल्लेखनीय रूपमा बढेको छ। यो आम्दानी अघिल्लो वर्षको १ अर्ब ५३ करोड ५ लाख रुपैयाँबाट बढेर १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको हो। त्यसैगरी कुल सञ्चालन आम्दानी ६.२१ प्रतिशतले वृद्धि भई ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको थियो।

 

बैंकको सञ्चालन मुनाफा भने अघिल्लो वर्षकै हाराहारीमा ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ रहेको छ। यद्यपि वितरणयोग्य मुनाफामा भने उल्लेख्य सुधार देखिएको छ। यो मुनाफा १२.९८ प्रतिशतले बढ्दै ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँबाट ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ।

 

प्रतिशेयर आम्दानी (ईपीएस) भने सामान्य घटेर ३७.३९ रुपैयाँबाट ३६.९५ रुपैयाँमा सीमित भएको छ। यस्तै, खराब कर्जा (एनपीएल) ०.३८ प्रतिशतबाट बढेर ०.४९ प्रतिशत पुगेको छ। बैंकको आधार दर ५.३६ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २५६.४७ रुपैयाँ कायम भएको छ।

 

पूँजीतर्फ बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। रिजर्भ कोषमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ।

 

व्यवसाय विस्तारतर्फ बैंकको कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन पनि २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट वृद्धि हुँदै ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ ।