२०८३ असार १८ गते
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले लगातार दोस्रो कारोबार दिन पनि हरियो यात्रालाई कायम राखेको छ। बुधबारको सकारात्मक लयलाई निरन्तरता दिँदै बिहीबार नेप्से ८.७८ अंकले उकालो लागेर २६६१.७१ विन्दुमा बन्द भएको हो।
यस दिन बजारलाई माथि उकास्न बैंकिङ्ग उपसमूहको प्रदर्शन निर्णायक रह्यो। कारोबारमा रहेका १३ उपसमूहमध्ये ५ उपसमूह हरियो हुँदा ८ उपसमूह राताम्मे भए। तीमध्ये बैंकिङ्ग उपसमूह सबैभन्दा बढी २.०४ प्रतिशतले बढ्यो। यसबाहेक वित्त, जीवन बीमा, लघुवित्त तथा म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य सुधार देखियो। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३५९ स्टकका ४३ हजार १३१ कारोबारमार्फत ८९ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
यस दिन चार कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ। अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोका शेयर मूल्य १० प्रतिशतको सकारात्मक सर्किटमा कारोबार भए। यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १३.५ प्रतिशतभन्दा बढी बढ्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले उकालो लागेको छ। विपरीततर्फ, १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य सबैभन्दा धेरै १०.६० प्रतिशतले घटेको छ।
आज
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। बैंकको ४१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ मा ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।
प्रतिक्रिया