२०८२ मंसिर २६ गते
काठमाडौँ । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) बन्द नहुने भएको छ।
शनिबारदेखि सुरु हुन लागेको नेकपा ९एमाले०को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा दुईदिन आवतजावत नरोक्ने निर्णय नागढुङ्गा–मुग्लिन सडक योजनाले गरेको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट सडक आंशिक बन्द गरेर काम गरिरहेको छ। दुई दिनका लागि अब सडक बन्द नगरिने आयोजनाले जनाएको छ। त्यसपछि भने कार्यतालिकाअनुसार नै तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए।
‘सडक स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौँको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियौँ,’ उनले भने, ‘एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी आज र भोलि सडक बन्द नगर्ने निर्णय गरेका छौँ।’
युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए।
सडक विभागले काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ।
प्रतिक्रिया