२०८३ जेठ २२ गते
काठमाडौँ । काठमाडौं र ललितपुरका करिब ९८ स्थानमा शनिबार चार घण्टासम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जेठ २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो।
प्राधिकरणअन्तर्गतको १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना, मातातीर्थले स्युचाटार सबस्टेसनमा मर्मत तथा स्तरोन्नतिको काम गर्न लागेकाले स्युचाटार र टेकु सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने जनाएको छ। यसका कारण कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थान प्रभावित हुनेछन्।
आयोजनाका अनुसार १३२ केभी स्युचाटार सबस्टेसनको ‘बस’ प्रणालीलाई सटडाउनमा राखेर आवश्यक मर्मत र सुधार कार्य गरिनेछ। यही कारण निर्धारित अवधिसम्म विद्युत् सेवा बन्द रहनेछ। साथै, उपत्यकाका अन्य सबस्टेसनबाट सञ्चालित वितरण प्रणालीमा समेत केही असर पर्न सक्ने प्राधिकरणले जनाएको छ।
मौसम प्रतिकूल भएमा कामको समयतालिकामा परिवर्तन हुन सक्ने उल्लेख गर्दै प्राधिकरणले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रयास भइरहेको र यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।
प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गत बाफल, स्वयम्भू, कलंकी, रविभवन, छाउनी, बल्खु, गुर्जुधारा, सतुङ्गललगायत ५३ स्थान प्रभावित हुनेछन्। यस्तै, कीर्तिपुर वितरण केन्द्रअन्तर्गत कीर्तिपुर, चोभार, टौदह र त्रिभुवन विश्वविद्यालय परिसर सहित ११ स्थानमा विद्युत् सेवा बन्द रहनेछ।
त्यसैगरी रत्नपार्क वितरण केन्द्रअन्तर्गत न्युरोड, धरहरा, सुन्धारा, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, टेकु, त्रिपुरेश्वर, असन र इन्द्रचोक लगायत २० स्थानमा विद्युत् आपूर्ति रोकिनेछ। पुल्चोक वितरण केन्द्रअन्तर्गत सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु, बागडोल, धोबिघाट, भैंसेपाटी र कुपण्डोल क्षेत्रसमेत प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया