२०८२ फागुन २६ गते
काठमाडौँ । मध्यपूर्वमा छाएको द्वन्द र अशान्तिका कारण एलपीजी(ग्यास)को विश्वव्यापी आपूर्तिमा संकट गहिरिँदै गएको छ । अमेरिका इजरायल र इरानबीचको युद्ध फैलिँदै मध्यपूर्वी मुलुक दुबई कतार बहराइन लगायतका ९ मुलुकसम्म आइपुगेको छ । विश्वभरीनै इन्धनको रुपमा बढी खपत हुने ग्याँस आपूर्ति रोकिँदा खाद्य उद्योगसँग सम्बन्धित व्यवसायीहरू चिन्तित बनेका छन्। ग्यास आपूर्तिमा आएको अवरोधका कारण विशेषगरी होटल तथा रेस्टुरेन्ट व्यवसायमा ठूलो असर पर्ने देखिएको छ।
भारतको पुडुचेरीमा व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति पूर्ण रूपमा बन्द भएपछि करिब ७५० होटल बन्द हुने जोखिम बढेको छ। पुडुचेरी होटल संघका अनुसार त्यहाँका करिब ९९ प्रतिशत रेस्टुरेन्टहरू पूर्ण रूपमा ग्यास सिलिन्डरमा निर्भर छन् र उनीहरूसँग खाना पकाउने अन्य विकल्प छैन।
ग्यास अभावको असर अन्य शहरहरूमा पनि देखिन थालेको छ। चेन्नईस्थित एक होटलले सिलिन्डर अभावका कारण आफ्नो मेनुमा परिकारको संख्या घटाउने घोषणा गरेको छ। त्यस्तै, चेन्नई होटल एसोसिएसनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै समस्या समाधानका लागि हस्तक्षेप गर्न आग्रह गरेको छ।
होटल उद्योगका अनुसार हजारौँ कर्मचारी तथा करिब ५० हजार उपभोक्ता प्रत्यक्ष रूपमा होटल सेवामा निर्भर रहेकाले आपूर्ति अवरोध लम्बिए खाद्य सेवा क्षेत्र गम्भीर संकटमा पर्ने चेतावनी दिइएको छ।
यता, भारतपेट्रोलियम मन्त्रालयले हालको अवस्थालाई ध्यानमा राख्दै तेल प्रशोधन केन्द्रहरूलाई एलपीजी उत्पादन बढाउन निर्देशन दिएको जनाएको छ। मन्त्रालयका अनुसार आपूर्ति सामान्य बनाउने प्रयास भइरहेको छ।
प्रतिक्रिया