२०८२ माघ १९ गते
काठमाडौं ।नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि सर्वोच्च अदालतले भदौ २३ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज गरेपछि नियुक्ति प्रक्रिया अगाडि बढाउन सकिने भएको हो।
तत्कालीन अध्यक्ष शरद ओझाले नक्कली अनुभवलगायतका कागजात पेश गरी अध्यक्ष पद हासिल गरेको पुष्टि भएपछि सरकारले छानबिन समिति गठन गरी उनलाई पदबाट हटाएको थियो। त्यसपछि सरकारले भदौ १४ गते सार्वजनिक सूचना प्रकाशित गर्दै सात दिनभित्र नयाँ अध्यक्षका लागि आवेदन माग गरेको थियो।यसअघि मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। उक्त समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी संयोजक, अर्थ सचिव घनश्याम उपाध्याय सदस्य र विज्ञ सदस्यका रूपमा डा। खोमराज खरेल रहेका छन्।
सरकारको सूचनापछि बीमा प्राधिकरणको अध्यक्ष पदका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए। अर्थ मन्त्रालयका अनुसार आवेदकहरूमा घनश्याम बुधाथोकी (ललितपुर), चिरञ्जीवी पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णुबाबु मिश्र (काठमाडौं), बुद्धराज श्रेष्ठ (काठमाडौं), डा. दामोदर बसौला (कास्की), चित्तनाथ शिवाकोटी (काठमाडौं०, ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार कन्कल (मोरङ), प्रा.डा. दीपकबहादुर भण्डारी (लमजुङ), खगेन्द्र पौडेल (काठमाडौं), यज्ञप्रसाद न्यौपाने (दाङ), रमेशकुमार भट्टराई (काठमाडौं) र महेन्द्र न्यौपाने (भक्तपुर)रहेका छन्।
यद्यपि नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढिरहेका बेला तत्कालीन अध्यक्ष शरद ओझालाई पुनः काम गर्न दिनु भनी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उक्त प्रक्रिया रोकिएको थियो।
प्रतिक्रिया