बैंकमा पैसा थुप्रियो, खस्कियो कर्जा : राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न उठायो ५० अर्ब

२०८२ माघ २५ गते

बैंकमा पैसा थुप्रियो, खस्कियो कर्जा :  राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न उठायो ५० अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न आज ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ४२ दिन अवधिका लागि उक्त रकम निक्षेप संकलन गर्न लागेको हो।

 

Advertisement:

Ad
Ad

बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन प्रणालीमार्फत बोलपत्र पेश गर्न सक्नेछन्। बोल गर्न सकिने रकम न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ। यस निक्षेपको ब्याजदर बोलकबोल प्रणालीबाट निर्धारण हुने छ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ८ गते गरिनेछ।

 

निक्षेप संकलन बहुब्याजदरमा बोलकबोलमार्फत हुनेछ र एउटै बैंकले फरक–फरक ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछ। आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै क्रमशः पूर्ण रकमसम्म निक्षेप स्वीकार गरिने राष्ट्र बैंकले जनाएको छ। संकलित रकम सम्बन्धित बैंकको लगानी पोर्टफोलियोमा गणना हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात ९ऋच्च्० मा समावेश गर्न नपाइने पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

हाल बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहे पनि बैंक तथा वित्तीय संस्थाहरू विभिन्न संरचनागत समस्याबाट गुज्रिरहेका छन्। अर्थतन्त्रमा  निजी क्षेत्रको लगानी घटेकाले बैंकमा प्रशस्त तरलता भए पनि कर्जा प्रवाह हुन सकेको छैन।त्यस्तै निष्क्रिय कर्जा एनपीएल बढ्दो क्रममा रहेको व्यापार, निर्माण र रियल इस्टेट क्षेत्रमा समस्या देखिँदा खराब कर्जा उल्लेख्य रूपमा बढिरहेको छ।

यसैगरी ब्याजदर घट्दा नाफामा दबाब देखिएको छ । तरलता बढी हुँदा निक्षेप तथा कर्जाको ब्याजदर घटेको छ, जसले बैंकहरूको नाफामा प्रत्यक्ष असर पारेको छ।पूँजी पर्याप्तता र जोखिम व्यवस्थापन चुनौती बैंकहरुका लागि अर्को टाउको दुखाई बनेको छ । कमजोर कर्जा गुणस्तरका कारण बैंकहरूको पूँजी पर्याप्तता अनुपातमा दबाब देखिन थालेको छ।रियल इस्टेट र सेयर बजार सुस्त हुँदा धितो मूल्य नबढ्दा नयाँ कर्जा विस्तारमा बैंकहरू सतर्क देखिएका छन्।

यी समस्याबीच राष्ट्र बैंकले निक्षेप संकलनजस्ता मौद्रिक उपकरण प्रयोग गरेर तरलता व्यवस्थापन गर्दै बैंकिङ प्रणालीको स्थायित्व कायम राख्ने प्रयास गरिरहेको अर्थविद्हरूको भनाइ छ।