२०८३ साउन २७ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन साउन २६ गतेसम्म ८ जनाको आवेदन परेको हो।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ।
विशेषज्ञमार्फत कार्ययोजनाको मूल्याङ्कन गराएपछि उत्कृष्ट उम्मेदवारलाई सर्टलिस्ट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्तामा समेत सहभागी हुनुपर्नेछ। छनोट प्रक्रिया पूरा भएपछि नेप्सेले नयाँ सीईओ पाउनेछ। हाल रिक्त रहेको नेप्सेको नेतृत्वका लागि सिफारिस समितिले साउन १२ गतेदेखि २६ गतेसम्म आवेदन माग गरेको थियो।
सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधिमध्ये कुनै विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेको हुनुपर्ने व्यवस्था गरिएको थियो। त्यस्तै, पूँजी बजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव र त्यसमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवलाई अनिवार्य योग्यता तोकिएको छ।
प्रतिक्रिया