रुपा घिमिरे, चरिकोटबाट फर्केर
काठमाडौँ ।
शहर बजारमा सहकारीप्रतिको आम मानिसको विश्वास दिनदिनै घटिरहेको अवस्थामा गाउँका सहकारीको अवस्था कस्तो होला भन्ने चासो जाग्नु स्वभाविकै हो । देश भरका सहकारी संस्थाहरू क्रमशः विवादित बन्दै जाँदा दोलखाका सहकारी संस्थाहरूले भने सदस्यहरू प्रत्यक्ष लाभान्वित हुने विभिन्न लोकप्रिय कार्यक्रम गरिरहेका छन्।
काठमाडौंबाट केही परका पहाडी जिल्ला दोलखा र रामेछापका सहकारी अवलोकन गरिसकेपछि जो कोहीको पनि सहकारीप्रतिको अहिलेको धारणामा परिवर्तन हुन पुग्ने रहेछ । वास्तवमा कुनै पनि क्षेत्र आफैमा बदनाम हुँदैन, सहकारीक्षेत्र पनि उत्पादन उत्पादकत्वमार्फत् समाज रुपान्तरणको चोखो उद्देश्य बोकेर हिँडेको भएपनि केही गलत नियत भएका सहकारी हाँक्ने सञ्चालकका कारण बदनाम हुन पुगेका हुन् । त्यसो त विश्वका विभिन्न मुलुकमा मात्र नभई छिमेकी मुलुक भारत र श्रीलंकामा सहकारी अभियानमार्फत् उत्पादनसँग जोडिएका सहकारी संस्थाहरूले राज्यको कूल गार्हस्थ्य उत्पादन एवं रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गरेको पाइन्छ ।
सहकारीको सिद्धान्त र मूलमन्त्र अनुशरण गरेका समुदायमा आधारित सदस्य केन्द्रित दोलखा र रामेछापका सहकारीमा बचतकर्ताले आँखा चिम्लेर रकम जम्मा गरेका छन् । त्यहाँ बचत फिर्ताको कुनै गुन्जायस छैन । होस् पनि कसरी सहकारीले सदस्य बचतकर्तालाई भनेको समयमा बचत फिर्ता गर्ने गरी तरलता व्यवस्थापनका साथै समग्र सहकारीको आर्थिक हैसियत जाँच गर्ने पर्ल्स प्रणाली आत्मसाथ गरेका छन् । सहकारी होस् त यस्तो, भन्ने गरी सहकारीले आफ्ना सदस्यहरुलाई जन्मदेखि मृत्यु संस्कारसम्ममा आर्थिक रुपमा टेवा दिँदै आएको छ । दोलखाको जिरीमा रहेको एकीकृत फेण्डसिप बचत तथा ऋण सहकारी, दोलखामै रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था र हाम्रो बचत तथा ऋण सहकारीले सदस्य केन्द्रित भएर लगानी गर्ने काम गर्दै आएको छ ।
सहकारीको साथ जन्मदेखि मृत्युसम्म
दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको देशभरिकै उत्कृष्ट मध्यको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ७५ वर्ष उमेर पुगेका सदस्यहरूलाई मासिक पाँच सय रुपैयाँको दरले जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको छ। जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले नाफा रकमबाट १३ वर्ष अघि २०६७ सालदेखि जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले बताउनुभयाे।
‘आजको बचत, भोलिको भविष्य’ भन्ने सहकारी संस्थाहरूको नारा अनुसार ढल्कँदो उमेरमा सहकारी मेरो सहारा छ भन्ने भरोसा बोनस भनेर जनसचेतन आजीवन सहारा भत्ता शुरु गरिएको अध्यक्ष चौलागाईंको भनाइ छ। यो भत्ता प्राप्त गर्न कुनै अतिरिक्त शुल्क नलाग्ने तर ६० वर्ष उमेर पुग्नु अगावै सहकारी संस्थाको सदस्य भएको र २० हजारसम्मको सेयर तथा ३० हजारसम्म बचत रहेको वा सेयर रकम कम भएपनि ५० हजारसम्म बचत रहेको सदस्यहरूलाई जनसचेतन आजीवन सहारा भत्ता उपलब्ध गराइने संस्थाका प्रमुख कार्यकारी दाहालको भनाइ छ ।
२०५० साल असोज २२ गते ३४ जनाले शुरु गरेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा हाल महिला १४ हजार पाँच सय ८९ जना र पुरुष १३ हजार दुई सय ३३ जना गरी २७ हजार आठ सय ८८ जना सेयर सदस्य तथा १० हजार छ सय ५२ जना बाल सेयर सदस्य रहेका छन् । संस्थामा फागुनसम्म कूल बचत एक अर्ब ८४ करोड २३ लाख ७१ हजार चार सय ३५ रुपैयाँ र कुल लगानी एक अर्ब ७५ करोड ४६ लाख ९२ हजार सात सय ८५ रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताउनुभयाे।
त्यसैगरी, दोलखाको जिरीमा रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले संस्थाका महिला सदस्यहरुलाई सुत्केरी खर्च वापत २ हजार नगद दिनुका साथै जन्मेका बच्चाको निःशुल्क खाता सञ्चालन गर्दै आएको छ । सहकारीले संस्थाका ७० वर्ष पुगेका ज्येष्ठ सदस्यहरुलाई वार्षिक ६ सयका दरले भत्ता प्रदान गर्दै आएको छ । त्यस्तै सदस्य बिरामी परेमा २५ हजार बिना व्याजमा एक महिनाका लागि प्रदान गर्ने गरेको छ । सदस्यको मृत्युमा ५ हजार बराबरको सरसामान किनेर घरघरमा पुग्ने गरेको छ । त्यस्तै, सहकारीको ६४ वर्ष भन्दा कम उमेरका सदस्यलाई बीमा कार्यक्रममा आवद्ध गरेको छ । विश्वव्यापी महिला सञ्जालमा जोडिएको एकिकृत फ्रेण्डसिपले महिला सदस्यहरुलाई आय आर्जनमा जोडी पूँजिगत रुपमा माथि उकास्न विभिन्न तालिम प्रदान गर्ने गरेको संस्थाका अध्यक्ष भूमिराज खड्का बताउँछन् । कूल १० करोड ६७ लाख ५७ हजार शेयर पूँजी रहेको यस सहकारीको कूल सम्पत्ति एक अर्ब ३३ करोड ३६ लाख ९२ हजार रहेको छ । संस्थाको निक्षेप मात्रै १ अर्ब ९ करोड माथि रहेको छ ।
संस्थाले आफ्ना सदस्यहरुलाई डिटिल प्रणालीमा कारोबार गर्ने सुविधा उपलब्ध गराएको छ । संस्थाले सदस्यहरुलाई मोबाइल बैंकिङका साथै एटिएम सुविधा, क्युआर मार्फत भुक्तानी सुविधा प्रदान गर्दै आएको छ ।
समुदायमा आधारित हुने परिकल्पना बोकेर रामेछाप जिल्लाको मन्थलीमा खुलेको नवजागरण बचत तथा ऋण सहकारी अर्को उदाहरणीय सहकारी हो । दुई वटा वडाबाट शुरु भएको संस्था हाल ३९ वडामा बिस्तार भएकोे छ । २०६५ सालमा यो संस्था उत्कृष्ट काम गरे बापत पुरस्कार जित्न पनि सफल रह्यो । संस्थाले आफ्ना सदस्यहरुको सन्तान जन्मने वित्तिकै निःशुल्क खाता खोल्ने प्रवन्ध गर्दिनुका साथै सुत्केरी भत्ता प्रदान गर्ने गरेको छ । संस्थाले ७० वर्ष कटेको ज्येष्ठ सदस्यलाई पाँच बृद्धभत्ता दिँदै आएको छ । सहकारीले सदस्यको मृत्यु भएमा सहकारीतर्फबाट पाँच देखि १५ हजारसम्म मृत्यु संस्कार खर्च दिने गरेको छ ।
सदस्यहरुलाई डिजिटल प्रविधिमा जोड्न निःशुल्क एटिएम सुविधा, निःशुल्क मोबाइल बैंकिङ सुविधा प्रदान गरेको छ । त्यस्तै वेष्टर्न युनियन मनिमार्फत् रेमिट्यान्स सुविधा पनि उपलबध गराउँदै आएको छ । संस्थाले दुई प्रतिशत मात्र नाफा लिएर बिना धितो सदस्यहरुलाई कर्जा प्रवाह गर्दै आएको छ । भारत बंगलादेशका सहकारीकर्मीहरु समेत यो सहकारीमा नेपालकै उत्कृष्ट काम गरेको सहकारी भनेर अवलोकन भ्रमण गर्न आउने गरेका छन् ।
कूल सम्पत्ति ६८ करोड ३१ लाख २९ हजार रुपैयाँ रहेको सो सहकारीमा नाै हजार ५ सय २२ शेयर सदस्य रहेका छन् । सो सहकारीको शेयर पुँजी ४ करोड ७६ लाख ५० हजार रुपैयाँ रहेको छ । सो संस्थाको कूल बचत निक्षेप ५१ करोड ९८ लाख ७२ हजार रुपैँया, ऋण लगानी ३९ करोड २२ लाख ६२ हजार रुपैँया र संस्थागत पुँजी ६ करोड ५५ लाख २१ हजार रुपैयाँ रहेको छ ।
देशैभरी सहकारीबाट बचत फिर्ता र ऋण नतिर्ने अभियान चलिरहँदा दोलखा र रामेछापका सहकारीमा भने यी कुराले छुन सकेको छैन बरु त्यहाँ सहकारीले सदस्यको विश्वास भरपुर जितेर सामाजिक आर्थिक विकासमा टेवा पुर्याएको देखिन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !