काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रधानमन्त्री प्रचण्डले पेस गरेको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो ।
मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो । मत विभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी भए । बैठकमा सभामुख देवराज घिमिरेले मत विभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको जानकारी गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले यही फागुन २१ गते नयाँ सत्तागठबन्धन बनाउनुभएपछि उहाँलाई समर्थन गरेको दल नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको थियो ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत १ गते ११ बजे बस्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !