काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार भारी अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३३ प्रतिशतले घट्न पुगेको हो ।
आइतबार नेप्सेमा १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकि ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा उत्पादन र प्रशोधन रह्यो जसको परिसूचक ०.८० प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्ने उपसमुहमा हाइड्रोपावर रह्यो जसको परिसूचक २.४२ प्रतिशतले घटेको छ ।
बजारमा आज कारोबर रकम पनि घटेर ३.०८ अर्ब बढीको मात्र शेयर किनबेच भएको छ । जसमा ३८ वटा कम्पनी बढेका छन् भने २०६ वटा कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटेपनि बोटलर्स नेपाल बालाजुको शेयरमा सर्वाधिक दश प्रतिशतको उछाल आएको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा समाज लघुवित्त रह्यो जसको शेयर नकारात्मक सर्किट लागेको छ । यस अघि उक्त लघुवित्त कम्पनीको शेयरमा लगातार सकारात्मक सर्किट लाग्दै आएको थियो ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि सन नेपाल लाइफ इन्स्योरेन्सनै रह्यो । जसले आज मात्रै २३.८० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ नगद लाभांशको घोषणा गरेको थियो । उक्त कम्पनीले बोनस शेयरको बाटफाट लगत्तै २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !