काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । बजारले अन्तिम समयमा आएर एकाएक दोहोरो अंकको वृद्धि हासिल गरेको हो । यस दिन नेप्से सूचक १४.५७ विन्दुले बढेर २०७६.२७ अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम भने औसतमा कम हो । यसअघि झन्डै १० अर्बसम्मको पनि कारोबार भइसकेको छ । यस दिन १३ मध्ये ४ वटा समूहका सूचक घटेका छन् । बाँकी समूह सकारात्मक भएका छन् ।
अन्तिम प्रहरमा नेपाल टेलिकममा पनि सकारात्मक सर्किट लागेको छ । यसले नेप्से सूचक बढाउन सहयोग पुगेको देखिन्छ । टेलिकमसहित ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । अन्तिम प्रहरको सूचक अध्ययन गर्दा बजारले अब विस्तारै गति लिन सक्ने संकेत पनि देखिएको छ ।
यद्यपि, पछिल्ला दिनहरुको अवस्थालाई समग्रमा हेर्दा भने बजार अझै पनि सुस्त देखिएको छ । कारोबार रकम झन् खुम्चिएको छ । यद्यपि, आपर तामाकोशीको लिलामी सेयर नपरेको पैसा फिर्ता हुन थालेकाले अब त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने कतिपयको भनाई पनि रहेको छ । यसमा ठूलै रकम फिर्ता हुने भएकाले त्यो रकम सेयर बजारमा आउने लगानीकर्ताहरुको विश्वास छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !