धनगढी । धनगढी उपमहानगरपालिका भित्रका आधारभुत विद्यालयहरुमा गणित पढेका शिक्षकले विज्ञान बिषय पढाउँदै आएका छन् । आधारभुत तहको कक्षा ६-८ मा विषयगत शिक्षकले पढाउनु पर्ने हुन्छ । तर धनगढीका केही विद्यालयहरुमा फरक विषयका शिक्षकले पढाउँदै आएको भेटिएको छ ।
धनगढी १८ फूलवारी एफ गाउँ स्थित खप्तडी आधारभुत विद्यालयमा गणित पढेका शिक्षकले विज्ञान विषय पढाउँदै आएका छन् । विद्यालयमा लामो समयदेखि गणित विषयका शिक्षकले विज्ञान पढाउँदै आएको विद्यालयका प्रधानाध्यापक फुल देव शाहले जानकारी दिए । शाहले भने,”यो विद्यालयले विज्ञान शिक्षक कहिल्यै पाएन । विद्यालयको आम्दानी नहुदा धेरै तलब दिन सकिदैन । थोरै तलबमा विज्ञानको शिक्षक पाइदैन । त्यसैले लामो समयदेखि गणितबाट बि.एड गरेका प्राथमिक तहका स्थाई शिक्षकबाट विज्ञानको पढाई गराइरहेका छौं ।”
त्यस्तै धनगढी १८ को इन्द्रोदय आधारभुत विद्यालयमा पनि विगत ८ महिनादेखि गणित पढेका शिक्षकले विज्ञान पढाउँदै आएका छन् । विद्यालयका सहायक प्रधानाध्यापक रघुनाथ ओझाले चालु शैक्षिक सत्रको असार महिनामा धनगढी उपमहानगरपालिकाले अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई अवकाश दिने निर्णय गरेपछि विद्यालयमा विज्ञान पढाउँदै आएका शिक्षकलाई अवकाश दिइएको बताए । अध्यापन अनुमति पत्र नभएका विज्ञान पढाउँदै आएका शिक्षकलाई हटाए पछि अध्यापन अनुमति पत्र भएका शिक्षक खोज्दा नभेटिएको बताए ।
विद्यालयको आन्तरिक आम्दानी नभएकाले थोरै तलबमा शिक्षक राख्नुपर्ने बाध्यता रहेकोमा ३ पटक विज्ञापन गर्दा समेत शिक्षक नभेटिएकाले गणितबाट बि।एड गरेका शिक्षकले विज्ञान पढाउँदै आएको ओझाले जानकारी दिए ।
देशका विभिन्न ठाउँका विद्यालयहरुमा अध्यापन अनुमति पत्र नभएका शिक्षकले विज्ञान विषय पढाउँदै आएको भएपनि धनगढीमा भने गत असारदेखि अध्यापन अनुमति पत्र बिना शिक्षक बन्न नपाइने कानुनी व्यवस्थालाई टेकेर अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई अवकाश दिइएको थियो । अवकाश दिइएका शिक्षकको स्थान तत्काल पदपुर्ति गर्नुपर्ने भएपनि कतै अध्यापन अनुमति पत्र भएका शिक्षकको अभाव र कतै शिक्षक भेटिएपनि विद्यालयले राम्रो तलब सुविधा दिन नसक्दा गणित पढेका शिक्षकले विज्ञान पढाउनु पर्ने अवस्था सिर्जना भएको बताइएको छ ।
धनगढीका नगर प्रमुख गोपाल हमालले शिक्षा क्षेत्रमा व्यापक सुधार र परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् ।सोही अनुसार गत बर्ष परिक्षा र नतिजामा कडाई गर्दा धनगढीका १७ वटा विद्यालयको आधारभुत तहको अन्तिम परिक्षा कक्षा ८ को नतिजा शून्य आएको थियो । भने अन्य विद्यालयमा पनि न्यून प्रतिशतमा विद्यार्थी उत्तिर्ण भएका थिए । मेयरले शिक्षा क्षेत्रमा ब्यापक परिवर्तन गर्ने भनेपनि मेयरमा निर्वाचित भएको झण्डै २ बर्ष पुग्नै लाग्दा विद्यालयहरुमा विषयगत शिक्षकको व्यवस्था गर्न नसक्दा गणित विषय पढेका शिक्षकले विज्ञान पढाउनु पर्ने बाध्यता रहेको छ ।
चालु शैक्षिक शत्रमा पनि गत बर्ष जस्तै कडाई गरिने बताइएको छ । परिक्षा र नतिजामा कडाई गर्ने तर विद्यालयमा विषयगत शिक्षक उपलब्ध गराउन नसक्ने भन्दै उपमहानगरपालिकाको आलोचना भइरहेको छ ।
गणित विषयका शिक्षकले विज्ञान पढाइरहेको बारेमा धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीले विद्यालयहरुलाई सुझाव र सल्लाह दिन सक्ने बताए । उनले तत्काल उपमहानगरपालिकाले विषयगत शिक्षक उपलब्ध गराउन नसक्ने बताए । उपमहानगरपालिका विषयगत शिक्षकको व्यवस्थापन गर्न लागि रहेकाले तत्काल विद्यालयहरुले आफै व्यवस्थापन गर्नुपर्ने बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !