धनगढी । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभा सम्पन्न भएको छ । आज शुक्रबार धनगढीको फ्लोरा होटेलमा एक कार्यक्रमका बिच सातौं प्रदेश सभा सम्पन्न भएको हो । प्रदेश सभामा महासंघको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
वि.स २०७९ चैत्र ११ गते शंकर बहादुर बोगटीको अध्यक्षतामा गठन भएको प्रदेश समितिले वि।स २०८० बैशाख ११ गते विपत व्यवस्थापन र जलवायु परिवर्तनमा नीजि क्षेत्रको भूमिका र सहकार्य सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न गरेको जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश स्तरीय सामाजिक संवाद संयन्त्रको स्थापना र कार्यान्वयनका लागि त्रिपक्षीय संवाद कार्यक्रम,सामाजिक संवादलाई प्रवद्र्धन गर्न भएका प्रयास र उपलब्धिका बारेमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०८०/८१ को बजेटका सम्बन्धमा नीजि क्षेत्रसँग छलफल एवं अन्तर्क्रिया गरि आवश्यक सुझाव र सल्लाह दिइएको महासंघको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै आर्थिक बर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश भित्र सञ्चालन हुने टिएसएलसि औद्योगिक प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।
महासंघले आर्थिक बर्ष २०८०/८१ मा २४ लाख ४३ हजारको आय र व्यय प्रस्तुत गरेको थियो । भने गत बर्षको १० लाख ५३ हजार ५ सय रुपियाँको आय र व्यय विवरण सार्वजनिक गरेको थियो ।
प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले नीजि क्षेत्र सरकारको महत्वपूर्ण साझेदार निकाय भएकाले नीजि क्षेत्रको जति चर्चा गरेपनि पुर्ण नहुने बताए । सरकारलाई सफल र असफल बनाउनमा नीजि क्षेत्रको ठूलो भुमिका हुने भएकाले नीजि क्षेत्रलाई प्रदेश सरकारले गम्भीरताका साथ लिएको मन्त्री धामीले बताए ।
मन्त्री धामीले नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई प्रदेश सरकारले आफ्नै लगानीमा कुन क्षेत्रमा औद्योगिक क्षेत्र बनाउनु पर्ने हो सुझाव दिन आग्रह गरे ।उनले यो आगामी बर्षको बजेट आउनु भन्दा पहिले नै सुदूरपश्चिमको औद्योगिक क्षेत्र कहाँ घोषणा गर्ने भन्ने प्रस्ताव ल्याउन आग्रह गरे । उनले सो औद्योगिक क्षेत्र बनाउन प्रदेश सरकारले बजेट विनियोजन गर्ने र संघको सरकारले पनि सहयोग गर्ने गरि प्रस्ताव तयार गर्न अनुरोध गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !