कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायण दत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्य कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।
राष्ट्रियसभा सदस्यमा अपाङ्ग तर्फ निर्वाचित नारायण दत्त भट्टले निर्वाचनमा गठबन्धन दलहरु भित्र इमान्दारिता देखिएकाले यसले भविष्यमा पनि गठबन्धनमा कुनै क्षती नपुग्ने बताए । उनले राष्ट्रियसभामा बन्ने नियम,कानुन र नियमावलीमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखी राष्ट हितमा हुने गरि दलित,जनजाती,आदिबासी,अल्पसंख्यक,महिला सबै बर्गको हित हुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गठबन्धनका सबै दलहरुले इमान्दारिता पूर्वक मत हालेर अतुलनीय सहयोग गरेको भन्दै भट्टले धन्यबाद ज्ञापन गरे ।
त्यस्तै महिला तर्फ माओवादीबाट निर्वाचित रेनु चन्दले संविधानमा उल्लेख भए बमोजिमका राष्ट्रियसभाको काम,कर्तव्य र अधिकारको पालना गरि राष्ट्रियसभाको औचित्य पुष्टि गर्नमा योगदान दिने प्रतिवद्धता व्यक्त गरिन् ।
बिहीबार भएको मतदानमा स्थानीय तहका १ सय ७६ मध्ये १ सय ७३ जना र प्रदेश सभाका ५२ जनाले मतदान गरेका थिए । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवाले मतदान गरेनन् । एक जना बाजुराको स्वामी कार्तिककी उपाध्यक्ष मैना जोशीको हालै निधन भएको थियो।
मेयर हमाल स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयर हुन् । नाउपाकी तिरुवा बिरामी परेर मतदानमा अनुपस्थित भइन् । प्रदेश सभाका ५३ मध्ये एक जनाको मृत्यु भइसकेकाले ५२ जनाले मतदान गरेका हुन् । सुदूरपश्चिममा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !