धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलहरुले भागबन्डा मिलाउन विशेषाधिकार समिति नभएर ‘स्कारपियो’ समिति थप गरेको आरोप लागेको छ । स्वतन्त्र सांसद डाक्टर तारा जोशीले प्रदेशका विषयगत समितिको कार्य विभाजन गरी ४ समिति बनाएकोमा भागबन्डा मिलाउन ‘स्कारपियो’ समिति थप गरिएको बताए ।
सबै कार्य क्षेत्र समेटेर ४ वटा समिति बनाएकोमा नयाँ समिति थप गर्नुको कुनै अर्थ नभएको जोशीको भनाई छ । उनले भने, ”विषयगत समितिले काम गर्ने कुनै कार्य क्षेत्र छुटेको छैन । खालि भागबन्डा पुर्याएर खान र यौटा ‘स्कारपियो’ गाडी थप गर्न मात्र त्यो विशेष अधिकार समिति बनाइएको भन्दै उनले त्यो विशेष अधिकार समिति नभएर ‘स्कारपियो’ थप गर्ने समिति मात्र भएको बताए ।
हिजो साँझ मुख्यमन्त्री सहित बसेको सत्ता गठबन्धनका नेताहरुले विशेषाधिकार समिति थप गर्दै समितिको भागबन्डा टुंगो लगाएका थिए । प्रदेश सभा गठन भएको १ बर्ष सम्म भागबन्डा नमिल्दा बिषयगत समितिहरुले सभापति पाउन सकेका थिएनन् । एक समिति थप गरेसँगै अब समितिहरुले सभापति पाउने भएका छन् ।
गठबन्धन दलहरु बिच भएको सहमति अनुसार विधायन तथा प्रदेश मामिला समिति कांग्रेसले पाउने भएको छ । विशेषाधिकार समिति माओवादी,सामाजिक विकास समिति नेकपा एकीकृत समाजवादी र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ । भने लेखा समिति प्रमुख प्रतिपक्ष दललाई दिने सहमति भएको बताइएको छ ।
आज विषयगत समितिको लागि उम्मेदवारी दर्ताको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । प्रदेशले सभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आज मतदाता नामावली प्रकाशन गर्ने र भोली निर्वाचन गर्ने जनाइएको छ ।आजै मतदाता नामावली माथि दाबी विरोध, अन्तिम नामावली प्रकाशन, सभापति पदमा निर्वाचन गर्ने प्रस्ताव दर्ता गर्ने निर्वाचन तालिका रहेको छ ।त्यस्तै भोली सभापतिको उम्मेदवार माथि दाबी विरोध, सभापति उम्मेदवारको अन्तिम नामावली प्रकाश र सभापति निर्वाचनको लागि बैठक प्रारम्भ निर्वाचन परिणाम घोषणा गर्ने जनाइएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले संसद भित्रको सुशासन र आर्थिक अनुशासन हेर्ने गरि प्रदेश सभा नियमावलीमा भएको विशेषाधिकार समितिलाई सक्रिय गरिएको बताए । उनले भागबन्डा मिलाउन मात्र समिति थप नगरिएको बताउँदै संसद भित्रको अनुशासन लगायत अन्य समितिका काम कारबाही समेत हेर्ने गरि विशेष अधिकार सम्पन्न समिति लाई सक्रिय पारिएको बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !