काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डा.बद्री केसीले बृहत एकताको लागि भन्दै आयोजना गरेको संवादप्रति ध्यानाकर्षण भएको जनाएको छ ।पूर्वअध्यक्ष डा.शेष घले नेतृत्वको समितिले सर्वोच्च अदालतको २०८० चैत २१ को आदेश अनुसार संघको सदस्यता, निर्वाचन प्रक्रिया लगायतका विषयहरूको समाधान गर्दै एकतापूर्ण महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा सर्वोच्च अदालतको आदेश विपरीत कुनै पनि गतिविधि नगर्न केसीलाई चेतावनी दिइएको छ । अदालतको निर्णयको उल्लंघन गर्ने कुनै पनि कार्य समितिका लागि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । साथै, समितिले एनआरएनए समुदायलाई एकता प्रक्रियामा सहभागी भई अदालतको आदेशअनुसार महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेको छ ।
यस्तै परराष्ट्र मन्त्रालयमार्फत अदालतको आदेश कार्यान्वयन प्रक्रिया अघि बढिरहेको समेत उल्लेख छ ।एनआरएनएको बद्री केसी पक्षले मंगलबार, नेपाली समय अनुसार साँझ ५ बजे डा उपेन्द्र महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा, संस्थापक संयोजक भिम उदास लगायतले सम्बोधन गर्नेगरी कार्यक्रम राखेसँगै समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !