प्रमिला कार्की /नेपाल न्यूज बैंक
काठमाठौं । विगत पाँच वर्षदेखि सिर्जनशिल महिला नौमती बाजा समूह सक्रिय छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन् । समूहले प्रधानमन्त्री, मन्त्रीका क्वाटरहरुदेखि विभिन्न संघ संस्थाको कार्यक्रमहरु तथा विवाहहरुमा बाजा बजाउने गर्दछन् ।
महिलाले पुरुषले झैं काम गर्न सक्दैनन् भन्ने दृष्टिकोणलाई परिवर्तन गर्नका लागि आफूहरुले महिलाहरुको मात्रै नौमती बाजा समूह कानुनी रुपमा दर्ता गरेर सञ्चालमा ल्याएको समुहकी अध्यक्ष बाल कुमारी भुषाल बताउँछिन् ।
उनले भनिन्,‘पञ्चेबाजा बजाउन छ वर्ष लाग्न लाग्यो । जातिगत रुपले समूहलाई पनि समावेशी बनाएका छौं । माग भयो भने नेपालभरी नै जान्छौं । कतिपय स्थानीय तहले महिलाहरुलाई गुडिया, अगरबत्ति बनाउ भनेर बजेट दिन्छ । त्यसलाई चुनौति दिनका लागि हामीले समूह बनाएरै कानुनी रुपमा समान्य महिलाले गर्न सक्दैनन् भन्ने काम गरेर देखाएका हौं ।’
उनले आफूहरुले सुरुवातीमा समाजबाट धेरै अपहेलना खेप्न परेको गुनासो गरिन् । दलित जातिले मात्र बजाउने बाजा भनेर भनियो, समाजको मानसिकताका कारण आफूहरुले तिरस्कार भोग्न परेको उनले सुनाइन् । परम्परागत मानसिकतालाई परिवर्तन गर्न महिला बाजा समूह स्थापना गरेको उनले जानकारी दिइन् ।
‘सुरुवाती चरणमा धेरै समस्या भयो, जातिय हिसाबले हेरियो । समाज मात्र नभइ स्थानीय स्थानीय सरकारको हेर्ने दृष्टिकोण संकुचित थियो । तल्लो जातको काम भनेर हेप्ने काम भयो । समाजमा संस्कार नै अझै परिवर्तन भएको छैन् । हामी आफैंबाट परिवर्तन गर्नुपर्छ भनेर लागेका हौं,’उनले भनिन् ।
उनको अनुसार सिर्जनशिल महिला नौमती बाजा समूहमा समावेशीतालाई विशेष ध्यान दिइएको छ । बाहुन, क्षेत्री, गुरुङ, मगर तामाङ सबै जातको महिलाहरु समूहमा रहेको उनले जानकारी दिइन् ।
उनले भनिन्,‘बाहुन जातिले बाजा बजाउन हुँदैन भन्ने मानसिकतालाई चिर्ने काम गरेका छौं । तर हाम्रो समूहमा बाहुन, क्षेत्री, गुरुङ, मगर, तामाङ सबै जात छन् । समावेशीता छ । स्थानीय सरकारले समेत महिलाहरुले गर्न सक्दैनन् भन्ने र बजेट पचाउने काम मात्र गर्यो भनियो । तर हामीले साहस बटुलेर प्रधानमन्त्रीदेखि मन्त्रीहरुको क्वाटरसम्म गएर बजाउने काम गरिरहेका छौं ।’
सुरु सुरुमा महिला भएकै कारण घर परिवारबाट पनि सपोर्ट नपाएको उनी सुनाउँछिन् । तर अहिले समय परिवर्तनसँगै घर परिवारको मानिसहरुको मानसिकतामा पनि परिवर्तन आउँदा आफूहरुलाई पहिला भन्दा सहज भएको उनको भनाई छ ।
‘हामीलाई लगनमा चाँही भ्याई नभ्याई हुन्छ । बैशाख १७ गतेलाई अहिले नै बुकिङ भएको छ । धेरैले मन पराइदिनुभएको छ,’ उनले खुशी साट्दै भनिन् ।
फाइभ स्टार होटलमा गएर जाँडरक्सी खाएर नारी दिवस मनाउने गतल प्रचलन रहेको भन्दै उनले आफूहरुले सडकमा बाजा बजाएर नारी दिवस मनाउने सोच रहेको सुनाइन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !