काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८२र०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनाहरुमा केन्द्रित हुन भनेका हुन्। उनले संघीयतामा प्रदेश र स्थानीयतहले गर्ने काम संघले गर्न जरुरी नरहेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दामात्र संघीयताको अभ्यास बलियो हुने बताए ।
उनले तयारीमा रहेका आयोजनाहरुको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्वपूर्ण आयोजनाहरुको तयारीमा ध्यान पुर्याउन पनि अनुरोध गरेका छन्अर्थमन्त्री पौडेलले विकासलाई नीतिमार्फत पनि सम्बोधन गर्न जरुरी रहेकोमा जोड दिँदै नीतिले थप क्षेत्रहरु खुल्ला गर्ने धारणा व्यक्त गरे । अहिलेको संसदबाट यो भन्दा बलियो सरकार बन्ने सम्भावना नहरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेले सबैभन्दा बलियो सरकार भएका सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहना अनुसार नयाँ बजेट बनाउने बताए ।
शहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुखहरु थिए भने उर्जा मन्त्रालयसँगको छलफलमा उर्जा मन्त्री दीपक खड्का, सचिव,विभागीय प्रमुख लगायत सहभागी थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !