काठमाडौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ जारी गर्दैछ । आइपिओ जारी गर्न लागेको कम्पनी कस्तो हो भन्ने लगानीकर्तामा चासो पनि देखिएको छ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी पनि हो यसकारण लगानीकर्तामा चासो बढेको हो ।
यो औषधि कम्पनी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.२९ मा रहेको छ । कम्पनीको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख २६ हजार रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष रहेको छ । यो कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । विभिन्न आयुर्वेदिक औषधि उत्पादन तथा आयात गर्ने, सर्जिकल सामान आयात तथा बिक्री वितरण गर्ने काम कम्पनीले गर्दै आएको छ ।
पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ । चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ । यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ ।
अहिले कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने चैत १२ गतेसम्म म्याद थप हुनेछ । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।
स्वास्थ्य र राष्ट्रका लागि एक संकल्पुभन्ने नारासहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धता छ । यो गैरआवासीय नेपाली समेतको लगानीमा खुलेको औषधी उद्योग हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !