काठमाडौ । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । त्यसका लागि विभिन्न खालका सुझाव माग गरेको छ । अर्थले आगामी आर्थिक वर्षको (२०८२/०८३) बजेटमा करमा के के सुधार गर्नुपर्ने भन्दै सुझाव माग गरेको छ । मन्त्रालयले आगामी वर्ष अवलम्बन गर्नुपर्ने राजस्व नीति, भन्सार महशुल, अन्तशुल्क, आयकर, गैरकर तथा राजस्व चुहावट नियन्त्रण लगायत समग्र राजस्व प्रशासनमा गर्नुपर्ने सुधारको विषयमा सुझाव माग गरेको हो । करका विषयमा अध्ययन गर्न गठन भएको राजस्व परामर्श समितिले सुझाव माग गरेको हो ।
अर्थमन्त्रालयले बिहिबार ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति पनि गठन गरिसकेको छ भने विभिन्न मन्त्रालयलाई बजेटको सिलिङ पठाएर सोही सिलिङभित्र रहेर कार्यक्रम प्रस्ताव गर्न पनि भनेको छ । राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई केही दिन अघि आगामी आर्थिक वर्षको लागि १९ खर्बको बजेटको सिलिङ पठाएको थियो । अब मन्त्रालयले सोही सिलिङ भित्र रहेर बजेट निर्माण गर्नुपर्नेछ । चालु आर्थिक वर्ष १८ खर्बको बजेट ल्याएको सरकारले खर्च गर्न नसक्ने भएपछि अर्धवार्षिक समिक्षामार्फत बजेटको आकार घटाएको छ । प्रायजसो सरकार ठुलो आकारको बजेट ल्याउने र खर्च गर्न नसक्ने देखेपछि मध्यावधि समिक्षा मार्फत घटाउँदै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !