काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ को आयोजनामा एक हप्तासम्म चल्ने स्वयम्भू महोत्सव आज शनिबारबाट शुरु भएको छ । ‘पूर्खाको पौरख, नेपाली गौरव’ भन्ने नारा लिइएको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले गरेका हुन् । उद्घाटनमा बोल्दै मेयर बालेनले धार्मिक र सांस्कृतिक सम्पदाले सुसज्जित स्वयम्भू क्षेत्रलाई महोत्सवले थप चलायमान बनाउन सहज हुने धारणा राखे । उनले भने, ‘हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरुको मिश्रित बसोबास भएको यस क्षेत्रका मानिसहरुका बिचको आपसी सम्बन्ध आत्मीय छ । आफ्नो धर्म मान्ने, अरुको धर्मको आदर गर्ने, धर्मावलम्बीप्रति सहभाव राख्ने यस प्रकारको समाज विरलै पाइन्छ । सद्भावयुक्त सामाजिक यो व्यवस्था उदाहरणीय र अनुकरणीय छ । यसलाई प्रवर्धन गर्नुपर्छ ।’
कार्यक्रमका सभापतित्व गरेका वडा नं १५का वडाअध्यक्ष ईश्वरमान डंगोलले पवित्र भूमि स्वयम्भूमा महोत्सव आयोजना गर्न पाउँदा गर्व लागेको बताए । महोत्सवले आर्थिक क्रियाकलाप बढाउनुका साथै पर्यटकीय गतिविधीमा टेवा दिन मद्दत पुग्ने धारणा राखे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष डंगोलले पटकपटक महानगरपालिकाका मेयर बालेन्द्र शाहले महोत्सव सफल बनाउन निकै सहयोग गरेको बताए । ‘हामीलाई मेयर शाब र उपमेयर ज्यूले निकै सहयोग गर्नुभएको छ , स्वयम्भू परिक्रमा गर्ने ठाउँ थोरै पीच गर्न बाँकी थियो, आगन्तुकलाई अप्ठेरो नहोस् भनेर बालेन सरकै सक्रियतामा पीच गरिसकियो । १५ वडाका सडक लगभग धुलोमुक्त बनाउन सफल भएका छौँ,’ उनले भने ।
यसैगरी महोत्सवले स्वयम्भू क्षेत्रको सांस्कृतिक महत्व र पर्यटन प्रवर्धनमा दिगो मद्दत गर्ने धारणा राख्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, स्थानीय उत्पादनको बजारीकरण, मौलिक खाना र हस्तकलाका सामानको महत्व वृद्धि गर्न महोत्सवले टेवा दिने उनको भनाइ थियो । नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख शुशिला अधिकारीले, लोककथनमा आधारित मान्यता सुनाउँदै, नागार्जुन बनबाट महामञ्जुश्रीले हेर्दा सबै तलाउ भइकन पनि स्वयम्भूमा दिप देखिएको मान्यतालाई धार्मिक पर्यटन प्रवर्धनको रुपमा विस्तार गर्नु पर्ने धारणा राखिन् ।
महोत्सवमा सुरुको दिन आज उद्घाटन सत्रपछि विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । महोत्सवस्थल भुइँखेल चौरमा करिब ६० वटा स्टल प्रदर्शनीका लागि राखिएको छ । स्थानीयबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा, रञ्जना लिपि लेखन, मुहार चित्रकारिता ९फेस पेन्टिङ्० जस्ता क्रियाकलापले महोत्सव अवलोकन जाने सहभागीलाई सूचना, जानकारी र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।महोत्सव फागुन १७ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !