काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजित कार्यक्रममा एमडीआरटी २०२५ का लागि छनोट भएका १०० जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।
अन्तर्राष्ट्रिय स्तरको एमडीआरटी फोरमका लागि नेपालभरबाट छनोट भएका यी अभिकर्ताहरूले एमडीआरटी २०२५ को लागि तोकिएको बीमाशुल्क संकलन गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अगाडि बढाउन अभिकर्ताहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै केही नयाँ अभ्यासहरू सञ्चालन गरिएको जानकारी दिए। साथै अभिकर्ता सञ्जालको व्यवसायिकरणलाई उच्च प्राथमिकता दिँदै मासिक तथा वार्षिक प्रोत्साहन योजना निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले विगत केही वर्षदेखि उच्च बोनसदर प्रदान गर्दै आएकाले अभिकर्ताहरूलाई व्यवसायमा सहजता भएको उल्लेख गर्दै उनले एमडीआरटी २०२५ का लागि ९५ जनाले एमडीआरटी, ३ जनाले सीओटी तथा २ जनाले टीओटीको लक्ष्य हासिल गरेको बताए। कार्यक्रममा ५१ दिनसम्म लगातार ५१ बीमालेख जारी गर्ने अभिकर्ता रुपक पराजुली र सबैभन्दा धेरै एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रममा प्रदेश प्रमुख, शाखा प्रमुख, मार्केटिङ कर्मचारी तथा अभिकर्ताहरूको उपस्थिति रहेको थियो। चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा उत्साह थप्दै अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरेका थिए।
सम्मानित अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान प्राप्त गर्दा आफूहरूको मेहनतको कदर भएको महसुस गरेको र यसले अझ प्रेरणा मिलेको बताएका थिए। समारोहमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, उपलब्धिमूलक उत्प्रेरक तालिम तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !