काठमाडौँ । राष्ट्रिय सभामा बहुमत जुटाउन नसकेपछि अप्ठ्यारोमा परेको सरकार भूमिसम्बन्धी अध्यादेशमा एक कदम पछाडि हटेको छ । सरकारमा सहभागी लोसपाकै समेत असहमतिपछि सत्तारूढ दलहरू अध्यादेश हेरफेरका लागि कार्यदल बनाउने निष्कर्षमा पुगेका छन् ।
शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेता सम्मिलित बैठकमा कार्यदलको सुझावका आधारमा प्रतिस्थापन गर्ने र अध्यादेश सच्याउने गरी सहमति बनेको छ । जारी ६ मध्ये अन्य पाँच अध्यादेश अगाडि बढाउने र सदनबाट पारित गर्ने बैठकमा सहमति बनेको एक नेताले बताए ।
लोसपा महासचिव डा। सुरेन्द्र झाले भूमिसम्बन्धी अध्यादेशमा आफ्नो पार्टीले राखेका विमति कार्यदल बनाएर सच्याउने गरी सहमति जुटेको बताए । उनका अनुसार बैठकमा पाँच अध्यादेश प्रक्रियामा लैजाने र कार्यदल सुझावका आधारमा भूमि अध्यादेश अगाडि बढाउने बैठकमा सहमति बनेको छ ।
‘भूमि अध्यादेशमा समेटिएको त्रुटिपूर्ण विषय कार्यदल बनाएर सच्याउने निर्णय भएको छ । अन्य पाँच अध्यादेश भने अगाडि बढाउने निर्णय छ,’ उनले भने, ‘अब भूमिसम्बन्धी अध्यादेश तत्काल अगाडि बढ्दैन ।’
अध्यादेशले ‘अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाईं, राजवंशी, रानाथारूलगायत पूर्ण रूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट वञ्चित राखिने तथा यो अध्यादेशले वन फँडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने’ लोसपाको ठहर छ ।
गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश संघीय संसद्को दुवै सदनमा दर्ता भइसकेको र सत्तापक्षीय दलहरूबिच पारित गर्ने सहमति बनेको बताए । भूमिसम्बन्धी अध्यादेशमा दलहरूबिच छलफल गरेर प्रतिस्थापन गर्ने उनले बताए । ‘अहिले हामीबिच जुन अध्यादेशमा सहमति छ, ती अघि बढ्छन् । भूमिसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्दा सबैका भावना समेटिने गरी अघि बढ्छौँ,’ उनले भने ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !