काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका छातासंगठनहरुले बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित रहेकाले भ्रामक र गतल अभिव्यक्तिको पछि नलाग्न आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको चार वटा संगठनले विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा आएका भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सयुक्त रुपमा विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन् । ‘नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीतिरनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको सर्वविदितै छ । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !