काठमाडौ । नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणले समस्याउन्मुख देखेको पोखरा फाइनान्सले मर्जर समिति गठन गरेको छ । केन्द्रिय बैंकले बुधबार मात्रै समस्याउन्मुख देखिएको पोखरा फाइनान्सका सिइओ सहित विभिन्न ८ वटा फाइनान्सका सिईओलाई सचेत गराईएको भन्दै कारबाही गरिएको बैंक तथा वित्तिय संस्थाको लिस्ट नै सार्वजनिक गरेको थियो ।
केन्द्रीय बैंकको स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफु अन्तर्गतका समितिहरू मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुगेको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिलाई नै सचेत गराएको थियो । राष्ट्र बैंकले सचेत गराएपछि पोखरा फाइनान्सले एक्विजिसन तथा मर्जरका लागि समिति गठन गरेको हो ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले समिति गठन गर्ने निर्णय गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले जानकारी दिए । फाइनान्सले स्वतन्त्र सञ्चालक तिलबहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतिक गुरुङ रहेका छन् ।
पोखरा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा कम्पनी ६३ करोड ७९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । पोखरा फाइनान्सको १ करोड ८ लाख २५ हजार ५ सय ६७ कित्ता सेयर दोस्रो बजारमा सुचिकृत छ । यसको पछिल्लो सेयर मूल्य प्रतिकित्ता ३७६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !