काठमाडौँ। बिहिबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ११.१० अङ्कले घटेर २६५४.३५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ० . ४१ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेको एक मात्र विकास बैंक उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै उत्पादन तथा प्रसोधन उपसमूहको परिसूचक भने स्थिर रहेको छ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन नौ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ८४ हजार पटकको कारोबारमा सात अर्ब ८५ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा ८६ कम्पनीका शेयर बढेका छन् भने १४९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी आठ कम्पनीका शेयर भने स्थिर रहेका छन् ।
बिहिबार सर्वाधिक बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त र सिक्लेस हाइड्रोपावर रह्यो जसको शेयर सर्वाधिक दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर लिमिटेड रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सर्वाधिक कारोबार हुनेमा सप्तकोशी विकास बैंक कम्पनी रह्यो जसको ३० करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एचआइडिसीएलको प्रमोटर शेयर रह्यो जसको पाँच लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !