काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाए अनुसार नेपालको सार्वजनिक ऋण पुष मसान्तसम्म आइपुग्दा २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो ऋण कुल गार्हस्थ उत्पादनको ४४.४६ प्रतिशत हो । जसमा आन्तरिक तर्फ १२ खर्ब ३४ अर्ब ७१ करोड र बाह्य तर्फ १३ खर्ब १ करोड ४१ लाख रुपैयाँ हो । सरकारको आम्दानी भन्दा खर्च बढी हुन गएका कारणले यो ऋणको भार थपिने क्रम निरन्तर चलिरहेको छ । यसको नियन्त्रणका लागि तत्कालै सरकारले आर्थिक उत्पादन र खर्च व्यवस्थापनमा ध्यान दिनु पर्ने देखिन्छ ।
त्यसैगरी राजस्व तर्फ हेर्ने हो भने ५ खर्ब ५९ अर्ब रुपैयाँ संकलन भएको छ । यो तथ्यांक गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब अर्थात् १३ प्रतिशतले बढी हो । तर सरकारले पुस मसान्तसम्ममा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । प्रतिशतमा हेर्ने हो भने यो वार्षिक लक्ष्यको ३९.४३ प्रतिशत मात्र हुन आउछ । अघिल्ला दुई वर्षहरुमा बजेट कार्यान्वयन इतिहासमै कमजोर बनेको तुलनामा यो वर्ष सुधार भने पक्कै भएको छ, तर यो सुधारको अवस्था भने औसत भन्दा खासै उकालो लाग्न सकेको देखिदैन । तसर्थ सरकारले राजस्व संकलमा भएका समस्याहरु खोजि समाधान गर्ने तर्फ तुरुन्त लाग्नु पर्ने देखिन्छ ।
त्यसैगरी पूँजिगत खर्च तिर पुष मसान्तसम्ममा बजेटमा सरकारले पुँजीगततर्फ विनियोजन गरेको ३ खर्ब ५२ अर्ब ३५ करोडमध्ये १६।१६ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड मात्र खर्च भएको छ । सरकारले चालु खर्चका लागि यो बजेटमा ११ खर्ब ४० अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा पुषसम्ममा ४ खर्ब ५२ अर्ब अर्थात बार्षिक लक्ष्यको झन्डै ४० प्रतिशत हुन आउछ।
सरकारले यो वर्ष वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड बजेट छुट्ट्याएकोमा पुष मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड अर्थात लक्ष्यको ४३.२ प्रतिशत खर्च भएको छ । सरकारको कुल आम्दानी ९सार्वजनिक ऋणबाहेक० ५ खर्ब ७४ अर्ब रुपैयाँ र कुल खर्च ६ खर्ब ६७ अर्ब भएकोमा आम्दानी र खर्चबीचको अन्तर ९३ अर्ब रहेको देखिन्छ । सरकारले यो वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरेता पनि ७ अर्ब ३७ करोड अर्थात वार्षिक लक्ष्यको १४.०९ प्रतिशत मात्र प्राप्त भएको देखिछ । यी तथ्यांकहरु हेर्दा केहि तथ्यांकहरु सकारात्मक दिशा तर्फ अगाडी बढे पनि केहि तथ्यांकहरु भने सधै जस्तै औषतमा मात्र रहेको देखिन्छ । यसले हाम्रो ६ प्रतिशतको आर्थिक विकासको लक्ष्यमा पुग्नलाई हम्मे हम्मे पर्ने देखिन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !