काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ती प्रकृयामा कानूनको उल्लंघन पाइएको छ । बीमा ऐन २०७९ अनुसार बीमा प्राधिकरणको अध्यक्षको म्याद सकिन भन्दा एक महिना अगाडी नै अध्यक्ष नियुक्ती गरिसक्नु पर्ने कानूनी प्रावधान छ । जसअनुसार पुष १७ गते नयाँ अध्यक्ष नियुक्ती भइसक्नुपर्ने भएपनि माघ लागिसक्दा समेत प्राधिकरणको अध्यक्ष नियुक्ती हुन सकेको छैन । बीमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवाल यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । मुद्दा नपरेको भए सिलवालको आउँदो माघ १७ गतेसम्म पदावधि रहेको थियो । त्यस हिसावले पनि प्राधिकरणमा नयाँ अध्यक्ष पुष १७ गते नै नियुक्ती भइसक्नुपर्ने थियो ।
तर प्राधिकरणमा सूर्यप्रसाद सिलवाललाई अख्तियारले मुद्दा दायर गरेपछि बल्ल खुलाइएको आवेदनको समय अझै केही दिन बाँकी छ । आवेदन मिति सकिएपछि प्राधिकरणले अध्यक्ष पाउन अझै कम्तिमा एक महिना लाग्ने देखिन्छ । प्राधिकरणका एक वरिष्ठ अधिकृतका अनुसार प्राधिकरणमा अध्यक्ष नियुक्ती प्रकृयामा ठूलो राजनीतिक चलखेल हुने गरेको र यसले ऐन मिचिने गरेको स्विकार्छन् । हाल प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ती नभइञ्जेल सम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी दिइएको छ ।
गत पुष २४ गते अध्यक्ष नियुक्तिका लागि बीमा प्राधिकरणले खुलाएको आवेदन प्रकृयामा सहभागीहरुमध्य अध्यक्ष चयन गर्न सरकारले छनौट समिति गठन गरेको छ । छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारी, अर्थसचिव डा. रामप्रसाद घिमिरे र बीमा क्षेत्रका एक जना विज्ञ सदस्य रहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !