काठमाडौ । कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानीको कार्य स्थगन गरेको छ । समस्याग्रस्त घोषणापछि कर्णाली राष्ट्र बैंकको नियन्त्रणमा छ । बैंकले सूचना प्रकाशित गर्दै पुस २३ गतेदेखि २६ गते शुक्रबारसम्म निक्षेप भुक्तानीको कार्य स्थगन भएको जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाले कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भईरहेकोमा हाल तरलता व्यवस्थापन तथा नियमित कार्य संचालनको काम भइरहेकाले निक्षेप भुक्तानीको कार्य स्थगन भएको बताए । उनले तरलता व्यवस्थापनका लागि केही समय आवश्यक पर्न गएको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको कार्य पुनः सुचारु गर्ने जानकारी दिए । हाललाई बैंकले आगामी शुक्रबारसम्मका लागि निक्षेप भुक्तानीको कार्य स्थगन गरेको जनाएको छ ।
निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने कार्यलाई यस समूहले पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको र नियमानुसार क्रमशः भुक्तानी हुने खतिवडाले बताए । साथै उनले बाहिरी हल्ला, भ्रम र भीडको पछाडी नलागी धैर्यता कायम गरी व्यवस्थापन समूहलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । बैंकले गत पुस १७ गतेदेखि निक्षेप फिर्ता गर्न थालेको थियो । बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गरेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !