काठमाडौ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि छनौट भएकाहरुको प्रारम्भिक सुचि सार्वजनिक भएको छ । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार कर्जा दिनका लागि पहिलो चरणमा १ हजार ३ सय १४ वटा परियोजना छनोट गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले गत भदौ ११ गतेदेखि ३१ गतेसम्म कर्जा चाहने स्टार्टअपका लागि प्रस्ताव आह्वान गरेको थियो ।
१९ क्षेत्रको ५ हजार १ सय ५८ वटा परियोजनासम्बन्धी प्रस्ताव परेको थियो । त्यसमा छनौट भएको परियोजनाको व्यावसायिक प्रस्तावको प्रस्तुतीकरणका लागि फरक फरक समय तोकिएको छ । प्रस्तुतिकरण पुष २८ गतेदेखि चैत ११ गतेसम्म चल्ने छ ।छनौट भएका परियोजनाले ३ प्रतिशत ब्याजदरमा कर्जा पाउनेछन् । कर्जाको अवधि अधिकतम ५ वर्षको हुनेछ । ढिलोमा कर्जाको पहिलो किस्ता लिएको १ बर्षपछि साँवा र ब्याजवापतको रकम फिर्ता गर्नुपर्ने अवधि पनि तोकिएको छ । कर्जा प्रवाह गर्ने बैंकले असुल उपर गरेको साँवा र ब्याज रकम खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
कर्जासम्बन्धी सम्झौता भएपछि सम्बन्धित बैंकले उद्यमीलाई ७ दिनभित्रमा कर्जाको पहिलो किस्ता उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको दोस्रो किस्ता र त्यसभन्दा माथिको हकमा तेश्रो किस्तामा कर्जा रकम उपलब्ध गराउनुपर्ने व्यवस्था यो कार्यविधिले गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !