काठमाडौ । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक (पहिलो तीनमहिना) समिक्षाको अन्तिम तयारीमा रहेको छ । केन्द्रिय बैंकले समिक्षा सार्वजनिक गर्ने तयारी भएको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले केही दिनमै मौद्रिक नीतिको समिक्षा सार्वजनिक हुने बताएका छन् । उनले बाणिज्यषेष्टसँग भने, ‘आज भोलीमै सार्वजनिक होला । तर कहिले भन्ने एकिन समय भन्न सक्दिन । सम्भवत शुक्रबार सार्वजनिक हुन सक्ने सम्भावना छ ।’
अहिले बैकिङ प्रणालीमा अधिक तरलता छ । निक्षेपको ब्याजदर न्युन विन्दुमा छ । यसकारण पनि केन्द्रिय बैंकले गर्नुपर्ने ठाउँ धेरै नभएको बैंकका अधिकारीहरु बताउँछन् । प्रवक्ता पौडेल पनि मौद्रिक नीतिले धेरै गरिसकेको र अब गर्नुपर्ने विषयहरु खासै नरहेको बताएका छन् । यता बैकर्सहरु भने अधिक तरलताको स्थितीमा विदेशी बैकमा पैसा राख्ने सिमा बढाइ दिने गरी मौद्रिक नीति ल्याउनु पर्नेछ बताउँछन् । निर्माण व्यवसायीहरुले पाएको सहुलियत यहि मंसिर मसान्तमा सकिने भएकाले त्यसमा पुन: विचार गर्नुपर्ने उनीहरुको भनाइ छ ।
उसो त अर्थतन्त्र चलायमान बनाउँन अब मौद्रिक नीति भन्दा पनि वित्त नीति सक्रिय हुनुपर्ने जानकारहरु बताउँछन् । सरकारले पुँजीगत खर्चमा बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउँन सक्ने अवस्था रहने भएकाले सोहीतिर ध्यान दिन जानकारहरु सुझाउँछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !