काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत दरलेले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको हो । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्न पाउनेछन् । नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० प्रतिशत आईपीओ विक्री गर्ने मिति तय गरेको हो ।
पहिलो चरणको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था रहेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । वैदेशकि रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुसँगै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्रीपछि सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ विक्री हुनेछ । कुल कित्ता आईपीओमध्ये पनि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशतलेहुन आउने १ लाख १२ हजार ५०० कित्ता भने सामूहिक लगानीकोषका लागि सुरक्षित गरीएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट भएमा सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आईपीओ विक्रीमा आउनेछ ।
सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !