काठमाडौ । शंकास्पद कारोबारमा सबैभन्दा बढी १९ वर्ष देखि २४ वर्ष उमेर समुहका व्यक्ति सक्रिय हुने गरेको एउटा अध्ययनले देखाएको छ । शङ्कास्पद कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको हो । अधिकांश शङ्ककास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ ।
साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट, पार्सल फ्रड, फेक अनलाइन विजनेस, ओटीपि, चिठ्ठा जस्ता माध्यमलाई बढी प्रयोग गरेको पाइएको छ । नेपाल वितिय जानकारी इकाइले तयार पारेको स्ट्राटेजिक एनलाइसिस रिपोर्ट २०२४ मा साइबर प्रविधिमा आधारित ठगीमा संलग्न २ मध्ये १ जना १९ देखि २४ वर्ष उमेर समूहको युवा र ३ मध्ये १ जना विद्यार्थी हुने गरेको देखाएको हो ।
शंकास्पद कारोबारमध्ये ६४ प्रतिशत साइबरमा आधारित ठगी हुने गर्छ । सन् २०२४ को मे मसान्तसम्म कुल ५०१ वटा शंकास्पद कारोबार भएकामा ३१९ वटा (६३ प्रतिशत) साइबरमा आधारित ठगीसँग सम्बन्धित थिए । ३१९ मध्ये १५१ वटा नमुना लिँदा युवा र विद्यार्थी नै अग्रपंक्तिमा रहेको तथ्य फेला परेको हो ।
ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर इनइवल फ्रड सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ । प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ । प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने पद्दतिका विशेषता विश्लेषण गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !