काठमाडौ । अर्थमन्त्रालयले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि पहल थालेको छ । समस्या समाधानका लागि गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्रमा सुधारका लागि सरोकारवालाहरुसँग राय मागेको छ । आयोगले उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता, विज्ञ र आम नागरिकलाई आगामी मंसिर १५ गते भित्र आयोगको सचिवालयमा पुग्ने गरि सुझाव दिन आग्रह गरेको छ । सुझाव आयोगको सचिवालय सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हरिहर भवनमा पुग्ने गरी सुझाव पठाउँन आयोगले भनेको छ ।
आयोगले अर्थतन्त्रको सबै पक्षको अध्ययन गरेर विद्यमान आर्थिक समस्या समाधान गर्न ६ महिनाभित्र सरकारलाई सुझाव दिने गरि काम अघि बढाएको जनाएको छ । सरकारले गत असोज २२ गते पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा ५ सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो । आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !