काठमाडौ । नयाँ सरकार गठनपछि बढेको सेयर बजार ३ हजार विन्दुसम्म पुग्यो । यहि बेला बजारले हालसम्मकै उच्च कारोबारको रेकर्ड बनायो । बजारमा करिब ३० अर्ब हाराहारीमा कारोबार पनि भयो । तर ह्वातै बढेको बजारको ओरालो यात्रा पनि त्यसैगरी भयो । सानो तिनो करेक्सन विना नै बजार बढेकाले बजार पनि सेही अनुरुप घटेको विश्लेषकहरु बताउँछन् ।
असोज १३ गते २४ सय विन्दुसम्म ओर्लिएर करिब करिब बियरिस ट्रेण्ड छुन लागेको बजार फेरी फर्किएको छ । २४६४.४० विन्दुमा पुगेको बजारमा ३ अर्ब ९५ करोडको कारोबार भएको थियो । तर यहि साता बजार विस्तारै फर्किन थालेको छ । कारोबार रकम समेत बढेर साताको अन्तिम कारोबार दिन सात अर्ब १९ करोड रुपैयाँ पुगेको छ । बजार पनि २७४५.३६ विन्दुमा आइपुगेको छ । सेयर विश्लेषकहरु कारोबार ७ अर्ब भन्दा माथि जान थाले बजारले लय पक्रने बताउँछन् ।
सेयर बजारका प्राविधिक विश्लेषक सुभासचन्द्र ढुंगाना बजार अब विस्तारै बढ्न संकेत प्राविधिक विश्लेषणले गरेको बताउँछन् । उनी भन्छन, ‘पहिला बजार घटेको थियो । अब विस्तारै बढ्दैछ । तर पनि टर्नओभर खासै थिएन । बजार न्युन विन्दुमा पुग्दा पनि रिभर्स हुदैछ (फर्कदै) भन्ने देखाउँथ्यो । अब बजार फर्किसकेको छ । टर्नओभर (कारोबार) औसतमा ६ अर्ब पुग्नुपर्छ । यो विचमा एक दुइ दिन बजार घट्न सक्ने देखिन्छ ।’ यद्यपि, चाडबाडको माहोल अझै बाँकी रहेकाले बजारको निश्चित आकार तिहारपछिको एक दुइ कारोबारले तय गर्ने ढुंगाना बताउँछन् ।
यता, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसी राम ढकाल बजार नघटीकन एक्कासि धेरै माथि पुगेकोको जसरी बजार बढेको थियो त्यसरी नै घटेको बताउँछन् । उनी भन्छन, ‘बजार सानो तिनो करेक्सन सहित सम्हालिएर माथि जानुपथ्र्यो तर मातिएर माथि गएको थियो । जसरी माथि गयो त्यसरी नै मातिएर तल झर्यो । ३ हजारसम्म पुगेको बजारमा २७ सय ५० सम्म पुग्नु ठिकै थियो तर त्यो भन्दा पनि तल झरेर २४ सयकै हाराहारीमा आयो । त्यतिबेला बजार घट्नुको कारण सरकार परिवर्तनको हल्ला थियो भने ब्रोकरले बढी क्रेडिट दिएका कारण लगानीकर्ता पेनिक सेलमा पुगे ।’
अब चाडवाडको सिजन सकिन लागेको र लाभांश सिजन भएकाले बजारप्रति आम लगानीकर्ता आकर्षित हुने ढकालको भनाइ छ । ‘दशै अगाडीको पेनिक सेल सकियो । सरकार पनि परिवर्तन हुदैन भन्ने देखिएको छ । ब्याजदर झन घट्दो अवस्थामा छ, अब बजार बढ्छ’, ढकाल भन्छन । यो साता (दशैपछि) तीन दिनमात्र सेयर कारोबार हुदा ती सबै कारोबार दिनमा सेयर बजार बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
४ खर्ब ५१ करोडले घट्यो लगानीकर्ताको सम्पत्ति
यो पटक अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि साउन ३१ गते बजारले उच्चतम विन्दु (३०००.१) तय गरेको थियो । यद्यपि यो विन्दु ऐतिहासिक भने थिएन । यस अघि नै बजारले ३२ सय विन्दुसम्मको रेकर्ड कायम गरिसकेको थियो । त्यतिबेला पनि अर्थमन्त्रको जिम्मेवारीमा विष्णु पौडेल नै थिए । त्यसयता बजार २५५.४५ विन्दुले घटिसकेको छ । उच्चतम विन्दुमा सेयर खरिद गरेका लगानीकर्ताको सम्पत्ति हालसम्म ४ खर्ब ५१ करोड रुपैयाँले घटिसकेको छ । साउन ३१ गते बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगिसकेको थियो । त्यसयता कात्ति १ गतेसम्म आइपुग्दा बजार पुँजीकरण ४३ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँमा झरिसकेको छ । तथापि नेपालको बजार पुँजीकरणको गणना विधिनै सही नभएको भन्दै आलोचना समेत हुँदै आएको छ । संस्थापक सेयर र साधारण सेयरलाई एउटै मूल्यले गणना गर्ने गरिएको छ । तर नेपालमा संस्थापक सेयरको मूल्य निकै कम हुन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !