काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ । यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको थियो ।
गत शुक्रबार सार्वजनिक प्रतिवेदनले लामिछाने, गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !