काठमाडौं । नेप्से सूचक आइतबार फेरि घटेको छ । यस दिन नेप्से सूचक ५०.७३ विन्दुले घटेर २६३७.३९ अंकमा आएको छ । सूचक घटे पनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ । १० अर्ब ३३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक घटेका छन् ।
करिब १ महिनायता बजार घट्दोक्रममा रहेको छ । यो क्रमलाई गत बिहीबार नेप्से तोडेको थियो । त्यस दिन सूचक फराकिलो अंकले बढेकाले अब बजारको करेक्सन सकिएको कतिपयले अनुमान गरेका थिए । तर, उक्त अनुमानविपरीत सूचक आइतबार पुनः घटेको छ । बजारमा आएको बिक्री चापलाई धान्न सक्ने संस्थागत र ठूला लगानीकर्ताहरु ‘अझै पनि पर्ख र हेरकै’ अवस्थामा बस्दा नेप्सेले गति लिन नसकेको अनुमान गरिएको छ ।
यद्यपि, बिहीबार फराकिलो अंकले बढेकाले अल्पकालीन कारोबारी हावी भएको देखिन्छ । यसअघि ३ हजारसम्म पुगेको नेप्से छोटो समयमै घटेर २६ सय विन्दु आसपाससम्म झरेको हो । सूचकसँगै कारोबार रकम पनि सुस्त भइरहेको छ । यद्यपि, पछिल्ला दिनहरुमा कारोबार रकममा केही सुधारको संकेत भने देखिएका छन् ।
पछिल्ला दिनहरुमा बजार खुलेको पहिलो प्रहरमा नेप्से बढ्ने अनि अन्तिमतिर पुगेपछि घट्ने गरेको देखिन्छ । आइतबार पनि यही प्रवृत्तिले निरन्तरता पाएको छ । बजार खुलेको पहिलो सत्रमा नेप्सेमा राम्रो बढोत्तरी देखिएको थियो । तर करिब २ बजेतिरबाट नेप्से घट्न थालेको हो । केही समययता अन्तिम प्रहरमा सेलिङ प्रेसर अलिबढी देखिइरहेको छ ।
यसअघि नाफा बुक गरेर बाहिरिएकाहरुको अझै बजारमा बलियो उपस्थिति हुन बाँकी रहेको आइतबारको बजारले संकेत गरेको छ । विशेषगरी, ठूला र संस्थागत लगानीकर्ता सेयर किन्न नथाल्दासम्म बजारे गति लिन गाह्रो हुन्छ । बजारमा आउने सेलिङ प्रेसरलाई संस्थागत लगानीकर्ताले मात्र धान्न सक्छन् । व्यक्ति साना लगानीकर्ताको खरिदले मात्र बजारलाई माथि लैजान नसक्ने अनुभवीहरु बताउँछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !