काठमाडौँ । ठूलो उतार चढावकाबीच बुधबार शेयर बजार ६४ दशमलब २५ अंकले वृद्धि भएको छ । दिउँसो १ बजेर ३४ मिनेटमा २७ सय ९० दशमलब ६६ अंक पुगेको नेप्से परिसूचक कारोबारको अन्त्य समयमा २७ सय ६० दशमलब ९० मा बन्द भएको हो । बजार अघिल्लो कारोबार दिन भन्दा आज २ दशमलब ३८ प्रतिशतले बढेको छ ।
आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक बढेका छन् । बुधबार लगानीकर्तामाझ फाइनान्स उपसमूह प्रति राम्रो आकर्षण रह्यो जसको परिसूचकमा ८ दशमलब ०८ प्रतिशतको उछाल आएको छ । त्यस्तै लगानी उपसमूहमा पनि लगानीकर्ता आकर्षित रहेको पाइयो जसको परिसूचक ६ दशमलब ८९ प्रतिशतले वृद्धि भएको छ। यसै गरी यस दिन सबै भन्दा कम बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ०.६३ प्रतिशतले घटेको छ।
आज नेप्से बढेसँगै कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यो नेप्सेमा हाल सम्मकै धेरै रकमको कारोबार हो । अघिल्लो कारोबार दिन १७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१८ वटा स्टकको दुई लाख ३८ हजार पटकको कारोबारमा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको पाँच करोड ९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १९१ वटा कम्पनी बढेका छन् भने ४४ वटा कम्पनी घटेका छन् । त्यसै गरि ७ कम्पनी भने स्थिर रहेका छन् । यस दिन सर्वाधिक बढ्नेमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्स रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा सिभिल बैंक डिबेन्चर २०८८ रह्यो जसको शेयरमा ७.९२ प्रतिशतको गिरावट आएको छ ।
बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा अपि पावर कम्पनी रह्यो जसको १४ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !