काठमाडौं । असारे विकासले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । सरकारले असारको २५ दिनमा पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । असार २५ गते साँझसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ । असार १ गतेका दिनमा मात्रै ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो ।
यसरी असारको झरीमा बजेट स्वाहा भएको यो पहिलो वर्ष भने होइन । विगत लामो समयदेखि सरकारले पुँजीगत खर्चमा सुधार गर्न सकेको छैन । नेपालमा असार मसान्तमा आर्थिक वर्ष सकिन्छ । सोहीअुनसार सरकारको नयाँ वार्षिक बजेट पनि १ साउनदेखि नै कार्यान्वयनमा जान्छ ।
तर, सुरुवाती महिनामा बजेटको कार्यान्वयन भने निकै सुस्त हुने गर्छ । फलस्वरूपः नेपालमा हरेक वर्ष आर्थिक वर्षको अन्तिम समयमा गएरमात्र रातारात खर्च बढी हुने प्रवृत्ति छ । यसका अलावा निर्माणसम्बन्धी काम पनि पहिल्यैदेखि असारमै बढी हुने गरेको देखिन्छ । अन्तिम प्रहरमा हतारहतारमा काम सक्ने र भुक्तानी लिने प्रवृत्ति हावी हुँदै आएको छ ।
यसरी काम गर्दा गुणस्तरीय नहुने, जसरी भए पनि कागजमा काम सकेर देखाएर भुक्तानी लिने प्रवृत्ति देखिन्छ । यसबाट गुणस्तरीय काम हुनेमा सधैं आशंका छ । विशेषगरी, सडक निर्माण तथा मर्मत, पीच लगायतका काममा बढीमात्रामा यसरी रकम सक्ने गरेको सर्वसाधारणले पनि देखेका हुन्छन् । असारमा गरेको कालोपत्रे अर्को असार नआउँदै उप्किसकेको हुन्छ । यसबाट हाम्रो कामको प्रवृत्ति छर्लङ हुन्छ । अरु क्षेत्रको हालत पनि यस्तै हुन्छ ।
सरकारी कार्यालयमा आएर रोकिएका बिल बाहेक अब नयाँ भुक्तानी नहुने भएकाले पनि असार अन्तिमतिर आएर हतार गर्ने प्रवृत्ति बढेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित नियमावलीको प्रावधान अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नुपर्छ । सोहीकारण सरकारले सबैभन्दा बढी भुक्तानीको चाप सोमबार बेहोरेको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !