काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर लिमिटेडको स्थगित संयुक्त वार्षिक साधारण सभा पुनः आव्हान गरिएको छ । यस अघि कम्पनीले चैत २९ गते आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को १५औं र १६औं संयुक्त वार्षिक साधारण सभा बोलाएको थियो ।
उक्त सभाका लागि गणपूरक संख्या नपुगेकाले स्थगित भएको थियो । जेठ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस अघिकै प्रस्तावहरू यथाअवस्थामा रहने गरी जेठ २८ गते पुनः साधारण सभा आव्हान गरेको हो । के.एम बैंङ्क्वेट, कोटेश्वर महादेवस्थान, काठमाडौंमा विहान ९ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
सभाका लागि दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने प्रस्ताव पारित गर्नेछ । स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन र सञ्चालक समितिको बैठक भत्ता निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते एक दिन बुक क्लोज गरेको थियो । पुनः बस्ने वार्षिक साधारण सभाका लागि भने सोही बुक क्लोज लागू हुनेछ । बुक क्लोजको आधारमा चैत १५ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !