काठमाडौं । स्पन्ज आइरन र बिलेटमा कर परिवर्तन गरेर मारमा परेको भन्दै स्टील उद्योगीले लबिइङ तीब्र बनाएका छन् ।
बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई भट्ने कार्यक्रम राखेका उद्योगीहरु अपरान्ह तीन बजे अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दैछन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले भने -“बजेटका केही बुँदालाई लिएर असन्तुष्ट उद्योगी साथीहरु आज दिउँसो म सँग भेट्न आउँदै हुनुहुन्छ । स्पन्ज आइरन उद्योगीहरुमा तरंग आएको छ बजेटका कारण यतिखेर मैले चाल पाएको छु हेरौं म उहाँहरुकोृ कुरा सुन्छु कतिसम्म के गर्न सकिन्छ, हामी सबैका कुरा सन्छौंँ ।”
अर्थमन्त्री पुनले आफूहरुले निकै बिचार गरेर यो करको दर हेरफेर गरेको दाबी गरे । “स्टिल उद्योगीहरुले तीन तहमा कच्चा पदार्थका रुपमा स्पन्ज,स्क्रयाप, र बिलेट गरी आयात गर्ने गरेकोमा कम्तीमा ती सामानहरु एक चरणमाथि फिनिस गुड्सका रुपमा आउने हुँदा स्क्रयापलाई १ प्रतिशत,स्पन्जलाई २ दशमलव ५ प्रतिशत,बिलेटलाई ५ प्रतिशतका दरले कर कायम गरिएको जुन जायज रहेको छ”, उनले भने ।
उता छड तथा स्टिल व्यवसायी संघका अध्यक्ष हरी न्यौपानेले सरकार पिच्छे करका दर परिवर्तन हुँदा यो उद्योगको ताला साँचो सरकारलाई बुझाउन बाध्य हुने बताउँछन् । अघिल्लो सरकारले उद्योग लगाउन छुट दिने भन्यो उद्योगमा लगानी भएपछि अर्को सरकारले नीति परिवर्तन गर्ने अस्थिर व्यवस्था भयो भने आगामी दिनमा सरकारको नीतिलाई विश्वास गर्न नसकिने अध्यक्ष न्यौपानले बताउँछन् ।
न्यौपानेका अनुसार ३ वर्षअघि ६ वटा रहेका मेल्टिङ उद्योग १८ पुग्दा अहिले रोलिङ मिल ५/६ मात्रै छन् । मेल्टिङ उद्योगमा ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुन्छ भने रोलिङमा १०/१२ प्रतिशतमात्रै । अहिले मेल्टिङ उद्योगले ४५० मेगावाट विद्युत् खपत गरेको र ३५ सय रोजगारी थप सिर्जना भएको उनको भनाइ छ । उद्योगहरुले प्रतिमहिना २ देखि ३ अर्ब रुपैयाँसम्म महशुल तिर्ने गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !