काठमाडौं । संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको तीनवटै छाता संस्थाहरुले आपत्ती प्रकट गरेका छन् । निजी क्षेत्रको तीनवटै छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी भएको छ । उजुरी परेकै भरमा पक्राउ गरिहाल्ने र थुन्ने जस्ता कार्यले उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल गिर्न जानेप्रति सरकार संवेदनशील बन्न नसकेको भनिएकोछ ।
बिहीबार जारी विज्ञप्तिमा भनिएको छ- “उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुदैन भन्ने हाम्रो सुझाव रहन्छ । ”
उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्न र देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम हुन नदिन समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !