काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले वैशाख १४ गते गर्ने भनेको वार्षिक साधारण सभाको मिति सरेको छ । विशेष कारणवश वैशाख १९ गतेका लागि वार्षिक साधारण सभा सार्नुपरेको जानकारी कम्पनीले सूचनामार्फत गराएको हो । वैशाख १९ गते अपरान्ह ४ बजे कम्पनीको प्रधान कार्यालय रामशाह पथ, काठमाडौंमा सभा हुने जानकारी कम्पनीले दिएको छ ।
सभाका लागि यस अघि तय भएको बुँदा नम्बर २ बाहेक अन्य विषयहरू साबिककै कायम गरिएको छ । यस अघि प्रस्ताव नम्बर २ मा आर्थिक वर्ष ०६९÷७० , ०७०÷७१ र ०७१÷७२ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने उल्लेख थियो । अबको प्रस्तावमा आर्थिक वर्ष ०६९÷७० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू मात्र पारित गर्ने बताइएको छ ।
यस अघि पुरानो तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने तयारी गरिएकोमा अब एक आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू मात्र पारित हुनेछ । साविक राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भई राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट सञ्चालनमा रहेको छ । ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा कम्पनीले यस वर्ष पनि लाभांश प्रस्ताव गरेको छैन् । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख ३९ हजार रूपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी समेत गरेको छ । लाभांश वितरणका लागि भने कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले रोक लगाएको छ ।
पछिल्लो आर्थिक वर्षको वास्तविक वित्तीय विवरणपछि मात्र लाभांश प्रस्ताव गर्न प्राधिकरणले निर्देशन दिएको छ । कम्पनीले पछिल्ला आर्थिक वर्षको वार्षिक लेखापरिक्षण गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !