काठमाडौं । दुई कम्पनीहरूले संस्थापक शेयर विक्रीका लागि बिहीवार सूचना जारी गरेका छन् । एनएमबि बैंकले १० हजार ७३२ कित्ता र सूर्योदय वोमी लघुवित्त वित्तीइ संस्था लिमिटेडले ६८ हजार ८०५ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।
एनएमबि बैंकले प्रतिकित्ता १२० रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्री खुला गरेको हो । इच्छुक खरीदकर्ताहरूले एनएमबि बैंकको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार ७३२ कित्ताका लागि आवेदन दिनुपर्नेछ । वैशाख २० गते दिउँसो ३ बजेभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने जानकारी एनएमबि बैंकले दिएको छ ।
त्यस्तै सूर्योदय वोमी लघुवित्तले प्रतिकित्ता २५० रूपैयाँ अंकित मूल्यमा वैशाख २१ गतेसम्म आवेदन पेश गर्न सकिने गरी उल्लेखित कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीको शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले कम्पनीको शेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको कम्पनीको भनाई छ । सूर्योदय वोमी लघुवित्तले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागेको बताएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !