काठमाडौ । कोशी प्रदेशमा ८४ अर्थोडक्स चिया उद्योगहरूमा ३ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको पाइएको छ । जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको रहेको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । २ वटा उद्योगमा मात्रै वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो ।
अर्थोडक्स चिया उद्योगहरूले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियोपत्ताको प्रति केजी औसत खरिद/लागत मूल्य ५४.९३ रहेको छ । यसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगहरूको प्रति केजी औसत खरिद/लागत मूल्य क्रमशः ८७ रुपैयाँ र ४९.३५ रुपैयाँ रहेको छ ।
प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी आन्तरिक बजार मूल्य ९४१.६० रुपैयाँ र अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३.७१ र ४०८.३१ रुपैयाँ मात्र रहेको पाइएको छ । औसतमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी बिक्री मूल्य क्रमशः ८२३.१४ र ४११.१२ रुपैयाँ रहेको छ । अर्थोडक्स चिया उद्योगबाट उत्पादित अर्थोडक्स चियामध्ये ८८.६ प्रतिशत भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गरेको छ भने ११.४ प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ । अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१.६३ प्रतिशत रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा रहेको छ ।
प्रशोधित अर्थोडक्स चियाको बिक्री आय .२ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपैयाँ रहेको छ जसमा निर्यातको हिस्सा ८६.७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर रहेको देखिन्छ ।
जिडिपिमा ०.०५ प्रतिशत योगदान
कोशी प्रदेशमा अर्थोडक्स चियाको उत्पादनले (चियापत्ता र प्रशोधित चिया) कुल गार्हस्थ उत्पादनमा ०.०५ प्रतिशत योगदान मात्र पु¥याएको देखिन्छ भनेकोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा यसको योगदान ०.३३ प्रतिशत रहेको छ । अर्गानिक सर्टिफाइड उद्योगमा प्रति उद्योग औसतमा ४४ जना र अर्गानिक अनसर्टिफाइड उद्योगमा प्रति उद्योग औसतमा २४ जनाले रोजगारी पाएका छन् । त्यसैगरी, अर्थोडक्स चिया खेतीतर्फ प्रति रोपनी २ जनाले रोजगारी पाएको देखिन्छ ।
स्थलगत सर्वेक्षणका क्रममा नमुना छनौटमा परेका किसानहरूबाट लिइएको आम्दानी र खर्च सम्बन्धी विवरणका आधारमा विश्लेषण गर्दा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड नमुना किसानहरूको प्रति केजी औसत लागत क्रमशः ४५.१६ रुपैयाँ र रु.२४.७२ रुपैयाँ, प्रति केजी औसत आम्दानी ७५.५२ र रु.४८.४४ रुपैयाँ, प्रति रोपनी औसत आम्दानी १३,९९१ र १०,५७५ रुपैयाँ र प्रति केजी औसत मुनाफा ३० २४ रुपैयाँ रहेको देखिन्छ ।
कोशी प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल १०० अर्थाेडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा रहेका छन् । अध्ययनमा ८४ अर्थोडक्स चिया उद्योगहरू सहभागी गराइएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !